अपराध नियन्त्रण भए सुशासन र समृद्धि हुने : गृहमन्त्री थापा


 


काठमाडौँ, असार २२

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अपराध नियन्त्रण गर्न सकेमात्र मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । नेपाल प्रहरी, अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना गरेको ‘अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको प्रथम प्रदेश सम्मेलन’ शुभारम्भ गर्दै उहाँले अपराध नियन्त्रण गर्न सके विकास र समृद्धिको लक्ष्य पूरा हुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “न्याय प्रशासनलाई विश्वासिलो बनाउन वस्तुगत प्रमाणमा आधारित अनुसन्धान आवश्यक छ ।” निर्दोषलाई उन्मुक्ति दिन नसकेसम्म जनता र राष्ट्रको विश्वास जित्न नसकिने भन्दै गृहमन्त्री थापाले वस्तुगत प्रमाण जुटाएर अनुसन्धान गर्न प्रहरी तथा सरकारी वकिलको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रको अखण्डता र स्वतन्त्रताको रक्षा गरी जनताको अधिकार रक्षा गर्नेतर्फ सबै लाग्नुपर्ने उहाँको भनाइ थियो ।

सुरक्षा नीति न्यायप्रणालीसँग जोडिएको विषय भएको र यसलाई समायनुकूल बनाउन सरकार लागेको स्पष्ट पार्दै गृहमन्त्री थापाले भन्नुभयो, “सुरक्षा नीतिमा गम्भीर त्रुटी छन्, त्यसलाई सच्याएर सरकार अगाडि बढ्न चाहन्छ। ”

पूर्व प्रधान न्यायधीश कल्याण श्रेष्ठले कानूनी राज्य शिथिल भएमा अहिलेसम्मका राजनीतिक उपलब्धि गुम्ने भन्दै विकासलाई संस्थागत गर्न सरकार दह्रो भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । रासस

प्रकाशित मिति: २२ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्