सरकारले कानुन उल्लंघन गरेको कांग्रेसको आरोप


 


काठमाण्डौँ, असार २१

अघिल्ला सरकारका निर्णय बदर गरेर वर्तमान सरकारले कानुन उल्लंघन गरेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले आरोप लगाएको छ ।  आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले पछिल्ला दुई निर्णयले सरकार स्वच्छेचारी ढंगले अघि बढ्न लागेको कांग्रेसको ठहर रहेको जनाउँदै यसबाट कानुन उल्लंघन भएको बताउनु भएको हो ।

गएराती अबेरसम्म चलेको मन्त्रिपरिषद् बैठकले शेरबहादुर देउवा सरकारको पालामा मन्त्रिपरिषद् तथा मन्त्रीस्तरबाट भदौ १४ पछि भएका सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेपछि कांग्रेसको यस्तो प्रतिक्रिया आएको हो । प्रश्न व्यक्तिको होइन, विधिको हो । प्रश्न नियुक्ति या नियुक्ति बदरको होइन, प्रश्न यसबारेको स्थापित कानुनी प्रक्रियाको हो, पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भन्नुभयो –सरकारले यस प्रकरणमा कानुन उल्लंघन गरेको छ र निर्णय बदनियतपूर्ण छ ।

आचारसंहिता जारी भएको समयमा अघिल्ला सरकारले निर्वाचन आयोगबाट सहमति लिएर सम्बन्धित बोर्ड, संस्थानमा परिषद्को प्रक्रिया बमोजिम नियुक्तिका निर्णयहरु गरेको प्रवक्ता शर्माले प्रस्ट पार्नुभयो । उहाँले सरकारको निर्णयबाट द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण गरेको समेत टिप्पणी गर्नुभयो ।

प्रकाशित मिति: २१ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्