महुली पुल भासियो, बाँध बनाउन पहल


 


लहान असार २०

लगातारको वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित महुली खोलाको पुल भासिएको छ ।

दुई दिनयताको वर्षासँगै खोलामा आएको बाढीका कारण करिब २५ मिटरजति पुल भासिएको वडा अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिए।

बिहान करिब ४ वजे पुल भासिन थालेको जानकारी पाएको उनले बताए। ‘बिहान आउँदा करिब २ इन्च भासिएको थियो, अहिले १० इन्च भासिएको छ,’ उनले भने, ‘बिस्तारै–बिस्तारै भासिने क्रम जारी रहेकोले तत्कालै सर्पोटिङ बाँधको आवश्यकता छ।’

सप्तरीका एसपी मुकेशकुमार सिंहले पुलको एकसाइड मात्रै भासिएकाले वान–वे यातायात सञ्चालन गरिएको बताए। एसपीसहित सिडिओ सुरेन्द्र पौडेल लगायतको टोली घटनास्थल पुगेको छ। ‘पुलको आधा भाग जमिनमा छ,’ उनले भने, ‘जन्डौपट्टिबाट जमिनको भाग चाहिँ भासिएको हो, आत्तिनुपर्ने अवस्था छैन,’ एसपी सिंहले भने।

सडकको बीचमा पूर्वपश्चिम चिरा परेर एक साइड भासिएकाले त्यसको सपोर्टका लागि बाँध बनाउन पहल भइरहेको सिंहले जानकारी दिए। सडकका इन्जिनियरलाई बाोलाइसकिएको र आवश्यक तयारी समेत थालिएको उनको भनाइ छ।

प्रकाशित मिति: २० असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्