बाढी पहिरोको बबन्डरः देशभर २४ जनाको मृत्यु


 


काठमाडौं, असार २०
लगातारको वर्षापछि देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या दुई दर्जन पुगेको छ । गृहमन्त्रालयले जनाएअनुसार देशभर २२ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । यस्तै, २ जना बेपत्ता भएको तथ्यांक छ ।

गृह मन्त्रालयले संकलन गरेको तथ्याङकअनुसार पछिल्ला दुई दिनमा कैलालीमा घर भत्किएर १ जना महिलाको ज्यान गएको छ भने दुई बालकको नदीमा डुबेर ज्यान गएको छ ।
यस्तै बाँकेमा खोला तर्ने क्रममा डुबेर र पौडि खेल्ने क्रममा डुबेर चार जनाको ज्यान गएको छ । सिन्धुलीमा पनि खोलाले बगाएर दुई जनाको ज्यान गएको छ ।

चितवनमा नहरमा डुबेर एक जनाको ज्यान गएको छ । पर्सामा खोला तर्ने क्रममा बगाएर दुई जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । यस्तै, रोल्पामा घर भत्किएर च्याप्दा सुत्केरी सहित तीन जनाको ज्यान गएको छ ।

काठमाडौमा खोला तर्ने क्रममा १ जनाको ज्यान गएको छ । सर्लाहीमा खोलाले बगाएर २ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन् ।

यसैगरी तनहुँमा खोलाले बगाएर १ जनाको ज्यान गएको छ । १ जना घाइते भएका छन् । उदयपुरमा खोलाले बगाएर १ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । यस्तै, सिरहामा पानी जमेकोे खाल्डोमा डुबेर एक जनाको ज्यान गएको छ । दाङमा पनि खोला तर्ने क्रममा एक जनाको ज्यान गएको छ ।

मकवानपुरमा घरमाथिको ढिस्को खसेर पुर्दा २ जनाको ज्यान गएको छ । तनहुँमा वर्षाका कारण सालको रुख ढलेर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । महोत्तरीमा वर्षाले डुबान भएपछि सर्पले टोकर एक जनाको ज्यान गएको छ ।

पर्सामा पनि अविरल वर्षाका कारण आएको बाढीले डुबेर दुई जनाको ज्यान गएको छ । अझै देशका विभिन्न ठाउँमा बाढी पहिरोबाट मृत्यु भएका व्यक्तिहरुको विवरण संकलन गर्ने कार्य जारी छ ।

प्रकाशित मिति: २० असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्