एक वर्षभित्र दुई हजारलाई रोजगारी उपलब्ध


 


विराटनगर, असार १९

‘एक नम्बर प्रदेशको शान, सबैको अनुहारमा मुस्कान’ नाराका साथ १ नं. प्रदेश सरकारले आगामी एक वर्षभित्र दुई हजारलाई रोजगारी उपलब्ध गराउने लक्ष्य लिएको छ ।

यस अतिरिक्त प्रदेशको आर्थिक विकास संवाहकको रुपमा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिई निजी क्षेत्रको सहकार्यमा आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्राउने उसको लक्ष्य छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा यस क्षेत्रको पर्यटन पूर्वाधारको विकासमा विशेष जोड दिएको छ ।

सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने संघीय सरकारको लक्ष्य अनुरुप यहाँको प्रदेश सरकारले कार्य गरिरहेको छ । सन् २०१८ मा प्रचारप्रसार, सन् २०१९ मा पर्यटन महोत्सव वर्ष र सन् २०२०–२२ को अवधिमा पर्यटन पूर्वाधार निर्माण गरी आगामी पाँच वर्षभित्र यस क्षेत्रमा पाँच लाख पर्यटक भित्राउने लक्ष्य राखिएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुरुप पर्यटक आवागमन वृद्धि गर्न फुङलिङ–पाथीभरा, धरान–भेंडेटार, जयरामघाट–हलेसी, बराहक्षेत्र–सूर्यकुण्डमा केवल कार सञ्चालनको सम्भाव्यता अध्ययन गरिने छ ।

यसैगरी फाप्लु–लुक्ला, नाम्चे–सगरमाथा बेसक्याम्प, बाह्रबिसे–सभापोखरी, केराबारी–जेफाले–मिक्लाजुङ, अन्तुडाँडा–मंगलवारे माइपोखरी लगायतका स्थलमा केवलकार सञ्चालनका लागि विस्तृत अध्ययन गरिने भएको छ । रासस

प्रकाशित मिति: १९ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्