बाढीपहिरो पीडितको प्रबन्ध गर्न आग्रह


 


काठमाडौँ, असार १९

नेपाली काँग्रेसले बाढीपहिरोबाट पीडित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेको छ ।

उक्त दलले आज जारी गरेको विज्ञप्तिमा प्राकृतिक विपत्को यस घडीमा पीडित परिवारलाई तत्काल खाद्यान्न, लत्ता कपडा, भाँडाकुडा, औषधि र अस्थायी बसोवासको यथाशीघ्र उचित प्रबन्ध गर्न आग्रह गरेको हो ।

काँग्रेसले बाढी र पहिरोमा परी जीवन गुमाएका सम्पूर्ण नागरिकमा श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । सो घटनामा घाइते हुनेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

बाढी, पहिरो र डुबानका कारण क्षति भएका सडक, विद्यालय, पुलपुलेसालगायतका भौतिक पूर्वाधारको यथाशीघ्र पुनःनिर्माणका लागि समेत उक्त दलले सरकारको ध्यानाकर्षण गराएको छ ।

केही दिनदेखिको परेको अबिरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न जिल्लामा धनजनको ठूलो क्षति हुनाका साथै जनजीवन अस्तव्यस्त भएको छ । रासस

प्रकाशित मिति: १९ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्