चार दिनदेखि तारा एयरको विमान लुक्लाबाट उड्न सकेन


 


सोलुखुम्बु, असार १९

यहाँको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि एउटा विमान थन्किएर बसेको छ । मौसम प्रतिकूलताका कारण तारा एयरको विमान लुक्ला विमानस्थलमै थन्किएर बसेको हो ।

नाइनएनएकेके कल साइन भएको उक्त विमान अझै केहीदिन लुक्लाबाट काठमाडौँ जानसक्ने सम्भावना नदेखिएको तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाले जानकारी दिनुभयो ।

शुक्रबार मौसम प्रतिकूल हुँदा पनि यहाँ अवतरण गरिएका दुई वटा विमानमध्ये समिट एयरको विमान यात्रु लिएर तत्काल फर्कन सफल भए पनि तारा एयरको विमान भने फर्किन नसकेको तारा एयर लुक्लाले जनाएको छ ।

विमान कम्पनीको नियमअनुसार ४८ घण्टाभन्दा बढी सोही विमानस्थलमा राख्नुपर्ने अवस्था आएमा प्राविधिकले निरीक्षण गरेपछि मात्र उडान गर्नुपर्ने हुन्छ । नियमअनुसार अब लुक्लामा प्राविधिक आएर विमानको अवस्थाबारे निरीक्षण गरेपछि मात्र उक्त विमानले उडान गर्ने बताइएको छ ।

अहिले जिल्लाको माथिल्लो क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण जिल्लाको अर्को विमानस्थल फाप्लुमा समेत कुनै उडान हुनसकेको छैन । यहाँ हेलिकप्टरले समेत उडान भर्न सक्ने अवस्था नरहेको फाप्लु विमानस्थलले जनाएको छ । रासस

प्रकाशित मिति: १९ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्