पहाडमा पहिरो, तराईमा बाढीः दर्जनको मृत्यु


 


काठमाडौं, असार १९
अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभरिबाट कम्तीमा १२ को ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन्। सिंगै तराई–मधेस क्षेत्र बाढीसँगै डुबानमा परेको छ। पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिरो खसेको छ। अन्नपूर्णमा खबर छ ।

तराईका झापादेखि बर्दियासम्मको भूभाग डुबानमा परेको छ। प्रदेश ५ मा मात्र आठ जनाको ज्यान गएको छ। त्यसमध्ये बाँकेमा चार जनाले ज्यान गुमाएका छन् भने रोल्पामा तीन जनाको मृत्यु भएको छ। दाङमा एक जनाको मृत्यु भएको छ।

प्रदेश २ को पर्सा जिल्लामा बाढीले बगाउँदा एक जना विद्यार्थीको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। प्रदेश ७ को कैलालीमा घर भत्किएर एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

राजधानी काठमाडौंमा एक जनाको मृत्यु भएको छ भने सिन्धुलीमा खोलामा डुबी एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

राजधानी जोड्ने पृथ्वी राजमार्गको ठाउँ–ठाउँमा पहिरो खसेको छ। कर्णाली राजमार्ग पनि बन्द भएको छ। काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरू पूर्वको विराटनगर, इटहरी, जनकपुर क्षेत्र, वीरगञ्ज, बुटवल, नेपालगञ्जको जनजीवन भारी वर्षाका कारण प्रभावित भएका छन्।

गृह मन्त्रालयले भने सोमबार साँझ ११ जनाको मृत्यु भएको र दुई जना बेपत्ता रहेको पुष्टि गरेको छ।

बाँकेमा सबैभन्दा बढी जनको क्षति भएको छ। जिल्लामा बाढीबाट दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ। दुई दिनदेखि परेको अविरल वर्षाबाट आएको बाढीमा परी बैजनाथ गाउँपालिकामा दुई, कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिकामा एक÷एक जनाको मृत्यु भएको हो।

बाँके प्रहरी प्रमुख टेकबहादुर तामाङका अनुसार जेठी खोलाले बगाएर बैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलाराम बुढा र ज्वालीपुर नालाले बगाएर बैजनाथ–५ का ३५ वर्षीय लोकबहादुर सुनारको मृत्यु भएको हो। बिहान बाढीमा बगेर बेपत्ता भएका बुढाको शव दिउँसो मात्र भेटिएको थियो।

त्यसैगरी कोहलपुर नगरपालिका–४ गौवागाउँ निवासी ४ वर्षीय बालक रञ्जित पासीको घर नजिकैको खाल्डोमा परी र डुडुवा गाउँपालिका–२ निवासी ४ वर्षीया रिमाकुमारी यादवको पनि घरअगाडि जमेको पानीमा परेर मृत्यु भएको हो।

गृह मन्त्रालयले सोमबार ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुखलाई जिल्ला नछोड्न सर्कुलर जारी गरेको छ।

प्रकाशित मिति: १९ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्