बेल्जियम क्वाटरफाइनलमा प्रवेश, जापान घर फर्कियो
काठमाडौं, असार १९
जापानलाई पाखा लगाउँदै बेल्जियम विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रुसको रोस्तोभ एरिनामा गएराति भएको प्रतिस्पर्धात्मक खेलमा बेल्जियम ३-२ ले विजयी भयो । खेलमा अग्रता भने जापानले लिएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुमै जापानले अग्रता लिएको हो । ४८ औं मिनेटमा गेन्की हारागुचीले टोलीका लागि पहिलो गोल गरेका हुन् ।
यसको ४ मिनेटपछि ताकासी ईनुईले डि बक्स बाहिरबाट आकर्षक गोल गर्दै जापानको अग्रता दोब्बर पारे । २-० ले पछि परेको बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले ६५ औं मिनेटमा मराउने फेलियानी र नासिर चाड्लीलाई मैदानमा छिराए ।यसपछि बेल्जियमको प्रदर्शन सुधारियो । ६९ औं मिनेटमा यान भर्टोङ्गेनले एक गोल गरेपछि बेल्जियमको आशा पलायो ।
७४ औं मिनेटमा सब्सटिच्युट खेलाडी फेलियानीले एक गोल थप्दै बेल्जियमलाई बराबरीसम्म पुर्याए । ईन्जुरी समयको अन्तिम मिनेटमा बेल्जियमले एक गोल थप्यो ।
काउण्टर अट्याकमा केभिन डे ब्रायन र थोमस म्युनिएरको उत्कृष्ट तालमेलमा चाड्लीले गोल गरेपछि खेलको केही सेकेण्ड मात्रै बाँकी छँदा बेल्जियम भाग्यमानी बन्यो । जितसँगै बेल्जियम क्वाटरफाईनलमा पुग्दा कुनै समय २ गोलको अग्रता लिएर पनि पराजित टोली जापानको यात्रा भने टुंगिएको छ ।
प्रकाशित मिति: १९ असार २०७५, मंगलबार