बाढी र पहिरोमा परेर ११ जनाको मृत्यु


 


काठमाडौं, असार १९

बाढी र पहिरोमा परेर देशका विभिन्न ठाउँमा गरेर हिजो ११ जनाको मृत्यु भएको छ । रोल्पामा लगातारको वर्षाका कारण घरमाथिको पर्खाल भत्किँदा सुत्केरीसहित तीन जनाको मृत्यु भएको छ ।

रुन्टिगढी गाउँपालिका–५ सैबाङकी २२ वर्षीया कमला विकको घरमाथिको पर्खाल भत्किँदा आगो तापिरहेकी सुत्केरी कमला विक, उहाँकी १८ दिनकी छोरी आयुसा र छिमेकी १५ वर्षीया चित्रा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिनुभयो । हिजो बिहान साढे १० बजेतिर घरमाथिको पर्खाल भत्किएर घर पुरेको हो ।

बाँकेमा बाढीमा परी चारजनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका ५ गुरुवागाउँका ३५ बर्षिय लोकबहादुर सुनार र ६५ वर्षीय तुलाबहादुर बुढाको ज्यान गएको । यस्तै घर नजिकै आएको बाढीले बगाएर ४ वर्षका बालक रञ्जित पासीको पनि ज्यान गएको छ । डुडुवा गाउँपालिका २ जाफरपुरवाका राम नारायण यादवकी ४ वर्षीया छोरी रिमादेवी यादवको घर नजिकैको खाल्डोमा डुबेर ज्यान गएको हो ।

पर्साको पर्सागढी नगरपालिका ४ मा बाढीले बगाउँदा एक किशोरीको ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन् । १५ वर्षीया प्रतिमा रामको ज्यान गएको हो भने १५ वर्षीय सुरेन्द्र महतो बेपत्ता हुनुभएको छ । बेपत्ता भएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंको धर्मस्थली महादेव खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ । कच्ची घर भत्किँदा कैलालीको गोदावरी नगरपालिकामा एक जनाको ज्यान गएको छ । सिन्धुलीमा पनि बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ ।

प्रकाशित मिति: १९ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्