डा. केसीको स्वास्थ्य अवस्था बिग्रिदै, प्रतिष्ठानले भन्यो- जिम्मेवारी लिन्नौं


 


सुर्खेत, असार १८

शनिबारदेखि जुम्लामा अनशनरत हाडजोर्नी चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य खतरायुक्त अवस्थामा रहेको जनाइएको छ ।

अनशनरत डा. केसीको हातखुट्टा, टाउको, छाती दुख्ने समस्या बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा. पूजन रोकायाले जानकारी दिनुभयो । “२४ घण्टामा २०० मिलिलिटर मात्र पिसाब भएको छ, स्वास्थ्य दैनिकरुपमा निकै खस्किँदै गएकाले अवस्था खतरायुक्त छ,” मेडिकल डाइरेक्टर रोकायाले भन्नुभयो ।

बत्ती नभएको, भंगेराको दिसा झर्ने ठाउँमा मैनबत्ती बालेर अनशन गर्नुभएका डा. केसीको सुरक्षा र स्वास्थ्य उपचारार्थ पहल गर्न मेडिकल टिमले प्रशासनलाई ध्यानाकर्षण गराइसकेको उहाँले बताउनुभयो । स्वास्थ्य अवस्था खतरायुक्त भएकाले त्यसको जिम्मेवारी अब आफूहरुले नलिने उहाँले जनाउनुभयो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले डा केसीको सुरक्षा अवस्थामा निकै संवेदनशील भएर लागेको बताउनुभयो । “डा केसीको माग आफ्नो ठाउँमा छन् र हामीले सम्मान गरेका छौँ, तर उहाँको मागलाई आन्दोलनको रुप दिएर हुलदंगा मच्चाउने, अपराधीकरणतिर लिन दुश्प्रयास गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउनेलाई कडाइ गरेका छौँ,” प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो ।

डा. केसीको स्वास्थ्य अवस्था भने हिजोभन्दा आज बिग्रँदै गएको उहाँले जनाउनुभयो । यो समस्याको सहजीकरण कसरी गर्ने भन्ने विषयमा लागि परेको उहाँको भनाइ छ । अनशनरत डा केसीका समर्थकले भने उहाँको मानवअधिकारको सुरक्षा र राखेका मागको अविलम्ब सम्बोधन गर्न सरकारलाई दबाब दिँदै आइरहेका छन् ।

प्रकाशित मिति: १८ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्