नेकपाको सम्पति तीन अर्ब, भारतमा पनि जमिन


 


काठमाडौं, असार १८
सत्तारुढ दल नेकपासँग अचल सम्पत्ती मात्रै कम्तीमा तीन अर्ब रहेको देखिएको छ। तत्कालीन एमाले र माओवादीका नाममा देशभरि रहेको जमिन, भवन, कार्यालय आदिको चलनचल्ती मूल्य तीन अर्बभन्दा बढी हुने देखिएको हो। अन्नपूर्णमा खबर छ ।

नेकपासँग काठमाडौंमा मात्रै करोडौं मूल्यका ५ ओटा भवन छन् भने भारतको उत्तमनगरमा समेत एक करोडभन्दा बढी मूल्य पर्ने जग्गा रहेको छ।

काठमाडौं उपत्यकाभित्रै नेकपाका ठूला भवन, कार्यालय र जग्गा रहेका छन्। पेरिसडाँडामा पूर्वमाओवादीको मजदुर संगठनको नाममा रहेको २ रोपनी जग्गामा बनेको दुईवटा भवन, पूर्वएमालेको बल्खुमा नौ रोपनी एक आना जग्गा र त्यसमा रहेको भूकम्पले भत्काएको भवन, पुतलीसडकमा मनमोहन मजदुर भवनको नाममा जिफन्टको कार्यालय रहेको जग्गा र भवन, ललितपुर च्यासलमा तुल्सीलाल स्मृति प्रतिष्ठान भवन र काठमाडौं रानीबारीमा पुष्पलाल प्रतिष्ठानको नाममा रहेको भवन छन्।

पार्टीको चलअचल सम्पत्तिको लगत राख्ने काममा पूर्वएमाले व्यवस्थित देखिएको छ भने माओवादीको लगत तथ्यांक लथालिंग रहेको पाइएको छ। पूर्वमाओवादीमा जिल्ला तहमा पार्टीका नाममा चलअचल सम्पत्ति के–कति छ भन्ने विवरण समेत केन्द्रीय कार्यालयसँग छैन।

 

प्रकाशित मिति: १८ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्