एउटै उद्योगबाट वार्षिक ८० हजार किलो छुर्पी निर्यात


 


इलाम, असार १७

दुई वर्षअघि स्थापित सेतोट्यामी दुग्ध उद्योग प्रालिले एक वर्षमा तीन लाख किलो अर्थात् तीन हजार क्विन्टल छुर्पी अमेरिका निर्यात गरेको छ ।
कुकुरको आहाराका रूपमा नेपालबाट अमेरिकामा निकासी हुँदै आएको छुर्पी ९डगच्यू० उत्पादन गर्ने उक्त कारखाना इलाम नगरपालिका वडा नं १० मा छ ।

दैनिक तीन हजार ५०० देखि चार हजार लिटरसम्म दूध संकलन गरेर प्रशोधन गर्ने गरेको यो उद्योगमा प्रतिदिन २५० किलोसम्म छुर्पी र त्यति नै परिमाणमा घ्यू उत्पादन हुँदै आएको छ । उद्योगमा वार्षिक रूपमा उत्पादन हुने ८० हजार किलोग्राम छुर्पी अमेरिका निर्यात हुँदै आएको उद्योगका व्यवस्थापक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

इलाममा रहेका निजी डेरी उद्योगका साथै पाँचथर, ताप्लेजुङ, धनकुटा र तेह्रथुमसमेतका डेरीबाट उत्पादन हुने डगच्यू पनि सेतोट्यामीले संकलन गर्दै आएको छ । “इलाम र अन्य चार वटा जिल्लाबाट छुर्पी संकलन गर्छौं । हामीले उत्पादन गरेको र खरिद गरेर वर्षेनी तीन लाख किलो छुर्पी अमेरिका पठाउँछौँ”, श्रेष्ठले भन्नुभयो ।

सेतोट्यामीले उत्पादन गरेको र संकलन गरेको छुर्पी काठमाडौँको मनराम फार्म प्रालि र मनराम हिमालयन हेण्डीक्राफ्ट प्रालि हुँदै अमेरिकामा हिमालयन डगच्यू नामक कम्पनीमार्फत बिक्री हुँदै आएको छ । रासस

प्रकाशित मिति: १७ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्