दिगो विकासको आधारमा समृद्धिको मार्गचित्र : नेता नेपाल


 


जनकपुरधाम, असार १७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले प्रदेश नं २ मा दिगो विकासको सिद्धान्तलाई आत्मसात गरी समृद्धिको मार्गचित्र बनाउनुपर्ने बताउनुभएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रदेश सरकारद्वारा यहाँ आयोजित ‘समृद्धिको चाहनाः सम्पन्न प्रदेश २ को चाहना’ विषयक गोष्ठीमा उहाँले प्रदेश नं २ मा विकासका विशाल सम्भावना रहेकाले समृद्धिको सपनालाई साकार तुल्याउन क्षेत्रगत तथा जिल्लागत विशेषताको पहिचान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले प्रदेशको मानव संशाधन, कृषि विकास र व्यावसायीकरण, पूर्वाधार तथा संरचना निर्माण र सञ्चालन, सामाजिक पूर्वाधार, औधोगिक र लगानी, आवास तथा शहरी विकास नीति दीर्घकालीन सोचलाई ध्यानमा राखी तर्जुमा गरिनुपर्छ भन्नुभयो । समृद्धिको गन्तव्यका बाधक तत्वलाई परास्त गर्न जनचेतना र सामूहिक प्रयासको खाँचो उहाँले आँैल्याउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो स्रोतमा अधारित समृद्धिको यात्राको परिकल्पना गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले प्रदेश नं २ लाई विकासको ‘ब्राण्ड प्रदेश’का रूपमा पहिचान स्थापित हुने गरी विकास निर्माणको योजना र नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रकाशित मिति: १७ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्