रसियामा फुटबल, नेपालमा रातभर धन्दा


 


काठमाडौं, असार १६
रसियामा विश्वकप फुटबल चलिरहँदा नेपालीलमा अबौंको बाजी लाग्ने गरेको छ । विश्वभरका दर्शक टेलिभिजनमा खेल हेर्दै मन परेको टिम र खेलाडीलाई समर्थन गरेर रमाइलो लिइरहेका बेला नेपालमा त्यही रमाइलो सट्टबाजीमा परिणत भइरहेको छ ।

काठमाडौं, ललितपुर, पोखरा, धरान, वीरगन्ज, विराटनगरजस्ता ठूला सहरमा सट्टेबाजी धन्दा चलिरहेको छ । सट्टेबाजीको सबैभन्दा ठूलो खाल काठमाडौंमै चलेको प्रहरीले जनाएको छ । यो जुवामा टोलेगुन्डा, क्यासिनो खेलाडीदेखि फुटबलका फ्यानसमेत संलग्न छन् ।

रसिया विश्वकपका खेलअनुसार दैनिक एक अर्बभन्दा धेरैको बाजी लाग्ने गरेको छ । काठमाडौं, ललितपुर, पोखरा, धरान, वीरगन्ज, विराटनगरजस्ता सहरमा करोडौँको बाजी लाग्ने गरेको हो । काठमाडौंमा त टोलटोलसम्म सट्टेबाजको जालो पुगेको प्रहरी बताउँछन् ।

सट्टेबाजको धन्दा साँझ ५ बजेबाट सुरु हुन्छ । रातभर धन्दा चल्छ । बिहान ८ बजेसम्म हिसाबकिताब क्लियर हुन्छ । अनि मोबाइल स्विचअफ गरेर दिनभर सुत्छन् ।

खेल पाँच बजेपछि सुरु हुने भएकाले सट्टेबाजको सक्रियता पनि त्यही वेलादेखि सुरु हुन्छ । रातभर खेल चल्ने भएकाले बाजी पनि रातभर चलिरहन्छ । खेल सकिएपछि हिसाबकिताब हुन्छ ।

सट्टेबाजीका लागि उनीहरूले विशेषगरी भइबर र फेसबुक प्रयोग गर्छन् । प्रहरीबाट समातिने डरले हिसाबकिताब क्लियर भएलगत्तै भइबर र फेसबुकमार्फत लगाइएको बाजी डिलिट गर्छन् ।

टोलटोल, गल्लीगल्लीमा अहिले फुटबलकै चर्चा छ । प्रहरीले केही व्यक्तिहरुलाई नगदसहित पक्राउ पनि गरेको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: १६ असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्