मोरङमा रासायनिक मलको अभाव


 


विराटनगर, असार १५

मोरङमा मध्य असारसँगै किसानले धान रोपाई शुरु गरेपनि यो समयमा आवश्यक पर्ने रासायनिक मलको अभाव भएको छ ।  गत बर्ष भरीभराउ हुने कृषि सामाग्री कम्पनीको गोदाममा यसबर्ष थोरै मात्र मल छ ।

अहिले रोपाईको सिजनमा धमाधम बितरण गर्नुपर्ने डिएपी मल समयमा नै उपलब्ध नहुँदा किसान समस्यामा परेका छन् । गोदाममा मल ३ सय ६३ मेट्रिकटन मात्र रहेको कम्पनीले जनाएको छ । कम्पनीले तेश्रो मुलुकबाट मल ल्याउन ढिलाई गर्दा मल अभाव भएको हो ।

कम्पनीको क्षेत्रीय कार्यालय विराटनगरका सुचना अधिकृत नवरत्न गौतमका अनुसार असारको तेश्रो सातासम्ममा मल आउन सक्छ तर अझै टुङ्गो भने लागेको छैन ।

मोरङमा यो सिजनमा पाँच हजार मेट्रिकटन डिएपी मल आवश्यक रहेको छ । तर कम्पनीको गोदाममा ६ सय ५२ दशमलव ४७ मेट्रिकटन मात्र मल उपलब्ध छ । डिएपीको तुलनामा युरियामल भने केही बढी स्टकमा रहेको कम्पनीले जनाको छ ।

कम्पनीले दिएको असार १३ गतेसम्मको तथ्यांक अनुसार हाल गोदाममा ३ हजार ६ सय ६७ मेट्रिकटन युरिया र १ सय ५९ मेट्रिकटन पोटास रहेको छ । कम्पनीले मोरङ १ सय ७० भन्दा बढी कृषक सहकारी तथा उपभोक्त समिति मार्फत मल बितरण गर्दै आएको छ ।

प्रकाशित मिति: १५ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्