सरकार नयाँ ढंगले अगाडि बढ्न खोजेको छ : प्रधानमन्त्री


 


काठमाडौँ, असार १५

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नयाँ ढंगले अगाडि जान खोजेका कारण राष्ट्रिय अनुसन्धान विभागलगायतका प्रमुख विभागहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको स्पष्ट पार्नुभएको छ ।

विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको आज संसद्मा जवाफ दिँदै प्रधानमन्त्री ओलीले जनता सार्वभौसमत्ता सम्पन्न भएसँगै जनताको अधिकार संस्थागत गर्ने उद्देश्यले सरकारले केही महत्वपूर्ण विभागलाई आफू मातहत ल्याएको बताउनुभयो ।

जनतालाई बढी भन्दा बढी सेवा दिने लक्ष्यसहित केही निकायलाई थप अधिकारसम्पन्न बनाउन खोजिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो – “हामी नयाँ बाटो हिँड्दैछौं, नयाँ तरीका अवलम्बन गर्दछौं । देशमा केही क्षेत्रमा एकाधिकार थियो, तोडियो । नयाँ संरचना निर्माण गर्दा, कार्यान्वयन गर्दा नयाँ नै तरीका अपनाउनुपर्छ । हामी त्यतैतिर जान लागेका हौं ।”

उहाँले अगाडि भन्नुभयो – “हामी लोकतन्त्रका लागि लडेका छौं । लोकतन्त्रप्रति सम्मान छ । किस्तीमा राखेर कसैले दिएको लोकतन्त्र हामीले उपभोग गरेको होइन । सबैको त्याग र बलिदानले प्राप्त भएको लोकतन्त्रको हामी उपभोग गर्दैछौं । आधा शताब्दी भन्दा बढीको त्याग, बलिदान, भोगाइ र पीडा हामीले सहेका छौँ ।”

राष्ट्रिय योजना आयोगलाई प्रभावकारी बनाउन पुनर्गठन गरिएको जानकारी दिँदै उहाँले विद्यमान आयोगले पनि जनपक्षीय काम नगरे फेरि पनि पुनर्गठन हुनसक्ने बताउनुभयो । रासस

प्रकाशित मिति: १५ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्