प्रदेश नं १ लाई उज्यालो प्रदेश बनाइने


 


विराटनगर, असार १५

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अगामी पाँच वर्षभित्र प्रदेश नं १ लाई उज्यालो प्रदेश बनाइने बताउनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं १ र ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा तथा जर्मन सरकारको सहयोगमा आज विराटनगरमा आयोजित ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमको उद्घाटन गर्दै उहाँले अँध्यारोमुक्त प्रदेश बनाउन सरकारले नवीकरणीय ऊर्जाको सबै स्रोत उपयोग गर्ने बताउनुभयो ।

नेपालको ग्रामीण तथा विकट क्षेत्रमा उज्यालो पुर्याउन नवीकरणीय ऊर्जाको निकै महत्व रहेको भन्दै मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने बताउनुभयो । प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री हिक्मत कार्कीले प्रदेशलाई अगामी तीन वर्षभित्रै उज्यालो प्रदेश बनाउने संकल्पका साथ अघि बढिरहेको बताउनुभयो ।

ऊर्जाको विकास र विस्तारका लागि आफ्ना मातहतका सबै निकायलाई उहाँले निर्देशन दिनुभयो । प्रदेश नं १ का मुख्य सचिव सुरेश प्रधानले नागरिकलाई खुशी र समृद्ध बनाउन वैकल्पिक ऊर्जाको उपयोग गर्न ढिलाइ गर्न नहुने र यसका लागि सरकाले आवश्यक नीति तथा नियम बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

नेपालस्थित जर्मन राजदूतावास विकास सहयोग प्रमुख क्लाउडिया हाइपेले विगत ६० वर्षदेखि नेपालको ऊर्जा, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा जर्मनीले सहयोग पुर्याउँदै आएको बताउनुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले बढ्दो व्यापार घाटालाई न्यून गर्न ऊर्जाको पहुँच वृद्धि गरी ऊर्जामा आत्मनिर्भर भई स्वाधिन अर्थतन्त्रबाट सुखी र समृद्ध नेपाल निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो । रासस

प्रकाशित मिति: १५ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्