आज राष्ट्रिय धान दिवस मनाईदै


 


काठमाण्डौं, असार १५

आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ ।
आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ ।

कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

धान उत्पादनमा वृद्धि : राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ आज १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पुर्याएको छ ।

तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ । गतवर्ष १५ लाख ५२ हजार ४९६ हेक्टर जमीनमा धानखेती गर्दा ५२ लाख ३० हजार ३२७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रकाशित मिति: १५ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्