समृद्धिको मार्ग सरकारको पहिलो प्राथमिकता : मन्त्री बाँस्कोटा


 


झापा, असार १४

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्धिको मार्गमा डोर्याउनु नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

आज झापाको चन्द्रगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रतिपक्षले उठाएका असल कुराहरुलाई यथोचित स्थान दिएर समृद्ध मुलुक निर्माणका लागि वर्तमान सरकार अघि बढ्ने बताउनुभयो । “विकासमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन,” उहाँले भन्नुभयो – “प्रतिपक्षलाई पनि साथमा लिएर हामी सिङ्गै नेपालको विकासका लागि अघि बढ्छौं । विचारमा सत्तापक्ष र प्रतिपक्ष हुनसक्छ भन्ने हाम्रो मान्यता हो तर, विकासमा होइन ।”

आफ्नै बजेट, आफ्नै नीति र आफ्नै घोषणाबाट सरकारले समृद्धि र विकासलाई मूर्तरुप दिन खोजेको र अब सरकारको कामको वास्तविक परीक्षण शुरु भएको उहाँको भनाइ थियो । एक फरक प्रसंगमा मन्त्री बाँस्कोटाले सरकार अब घरेलु मामिला सुदृढ गर्न लागिपर्ने बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीको चीन भ्रमण पछि अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ भएको बताउँदै सरकारले घरेलु मामिला सुदृढ पार्ने सिलसिलामा प्रशासनिक संरचना, विभिन्न निकायहरुको संगठनात्मक संरचना, दरबन्दीको टुङ्गो, स्थानान्तरण जस्ता काम सक्न लागेको जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: १४ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्