काँग्रेस नेता गच्छदारद्धारा सरकारको प्रशंसा


 


विराटनगर, असार १४

नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार र प्रशासनमाथि पार्टीको नियन्त्रण हुनु गलत भएको बताउनुभएको छ ।  विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।

नेता गच्छदारले सबै राजनीतिक दल र जनताको सहयोगमा २४० वर्ष लामो राजतन्त्र समाप्त गरी संघीय गणतन्त्र ल्याएको र यही सर्वमान्य व्यवस्था भएको बताउनुभयो । काँग्रेस नेता गच्छदारले हालै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला भएका द्विपक्षीय सहमति कार्यान्वयन भएमा त्यो राष्ट्रको हितमा हुने बताउनुभयो ।

उहाँले वर्तमान सरकारले जनताको सुुविधाका लागि यातायातमा कायम सिण्डिकेट हटाएकामा प्रशंसा गर्दै यस्ता अरू जनहितका कार्य सरकारबाट हुनुपर्ने बताउनुभयो । निर्माण व्यवसायीहरुले गलत कार्य गरेको भएको भौतिक निर्माण मन्त्रालयले कारबाही गरी ठेक्का रद्द गर्नुपर्ने उहाँको भनाइ थियो ।

एक फरक प्रसंगमा उहाँले आगामी भदौ मसान्तसम्ममा काँग्रेस केन्द्रीय कार्यसमितिले विधान संशोधन गरी लोकतान्त्रिक फोरमसँग भएको सहमति कार्यान्वयनमा लाने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रकाशित मिति: १४ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्