बजेट कार्यान्वयनको तालिका बनाई अघि बढ्ने : अर्थमन्त्री डा खतिवडा


 


काठमाडौँ, असार १४

अर्थमन्त्री डा युवराज खतिवडाले बजेटको प्रभावकारी कार्यान्वयका लागि तालिका बनाई अघि बढ्ने बताउनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले बजेट कार्यान्वयनका साझेदारहरू प्रदेश र स्थानीय तह पनि भएकाले उनीहरुको पनि क्षमता बढाउँदै केन्द्रले परिपूरकको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

राजश्वबाट प्रशस्त साधन र स्रोत तलका तहमा पठाइएको र सोही आधारमा योजना पनि हस्तान्तरण गरिएको जानकारी गराउँदै उहाँले बजेटमा पहिलोपटक आठ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिइएको छ भन्नुभयो ।

बजेटले ज्येष्ठ नागरिकका लागि बीमा सुविधा र बालबालिकका लागि बाल संरक्षण कार्यक्रम, किसान, कर्मचारीलगायत सबैलाई समेटेको चर्चा गर्दै उहाँले यस्तै कार्यक्रमबाट अपेक्षित आर्थिक वृद्धि हुने बताउनुभयो ।

राजश्व पनि नबढाउने, विदेशी सहयोग पनि नलिने अनि खर्च जति पनि गर्ने भन्ने अर्थशास्त्रको नियम हुन सक्दैन भन्दै उहाँले बजारको मूल्यवृद्धि पनि बजेटसँग सम्बन्धित नभई एकाधिकार कायम गर्न खोज्नेले फैलाएको हल्ला मात्र हो भन्नुभयो ।

जनसंख्या र भूगोलमा कुनै एकको मात्र आधार नलिइ दुबै बीचको सन्तुलन मिलाई बजेट विनियोजन गरिएको र केही संस्थानमा विनियोजन भएको बजेट पनि संस्थागत सुदृढीकरणका लागि भएको स्पष्ट पार्नुभयो । रासस

प्रकाशित मिति: १४ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्