मुलुक विकासको नयाँ युगमा प्रवेश : प्रधानमन्त्री ओली


 


काठमाडौँ, असार १३

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नयाँ संविधान जारीपछि मुलुक आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।

हनुमान ढोका दरबार स्क्वायरस्थित जीर्णाेद्वार सम्पन्न गद्दी बैठक भवनको उद््घाटनका क्रममा आज उहाँले उक्त क्षेत्र नेपालको पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्वको भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले विश्वसम्पदा सूचीको सो भवनको जीर्णाेद्वारका लागि सहयोग गरेकामा यहाँस्थित सुंयुक्त राज्य अमेरिकाको राजदूतावासमार्फत अमेरिकी सरकारलाई आभार प्रकट गर्नुभयो ।

विसं २०७२ को गोरखा भूकम्पले लाखौँ मानिस घरबारविहीन भएको र सयौँ सांस्कृतिक धरोहर सम्पदा क्षतविक्षत भएको स्मरण गर्दै उहाँले भन्नुभयो, “भूकम्पले मानवीय र भौतिक क्षति पुर्याएको अवस्थामा अमेरिकालगायत मित्र राष्ट्रहरुले गरेको सहयोग उल्लेखनीय छ, हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौँ ।” प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनःनिर्माण अझ राम्रो बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै भन्नुभयो, “राजनीतिक संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौँ ।” भूकम्प फेरि पनि आउन सक्ने भएकाले अबको पुनःनिर्माण थप गुणस्तरीय हुनुपर्ने उहाँको भनाइ थियो ।

अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसिपी)ले सात लाख अमेरिकी डलरको अनुदान प्रदान गरी मियामोटो ग्लोबल डिजास्टर रिलिफ तथा नेपाल सरकार पुरातत्व विभागसँगको साझेदारीमा भूकम्पबाट क्षतिग्रस्त गद्दी बैठकको प्रवलीकरण तथा पूर्ण जीर्णाेद्धार गरिएको हो ।

प्रकाशित मिति: १३ असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्