विराटनगर विमानस्थलको धावन मार्ग तीन हजार मिटर विस्तार गर्ने


 


विराटनगर, असार १३

प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले संघीय सरकारको सहयोगमा विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न तीन हजार मिटरको धावन मार्ग निर्माण गरी विस्तार गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले विराटनगर विमानस्थल हाल एक हजार ५०० मिटर लम्बाइ भएकाले अन्तर्राष्ट्रियस्तरको निर्माणका लागि धावन मार्ग विस्तारका लागि संघीय सरकारलाई सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।

बैठकले प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले पठाएको प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा बनेको विधेयक, २०७५, आर्थिक मामिला तथा योजना मन्त्रालयले पठाएको प्रदेश कर तथा गैरकर राजश्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५ प्रदेश सभामा पठाउने निर्णय गरेको छ ।

यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई प्रदेश विपद् व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ र प्रदेशसभा सचिवालय व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ लाई सैद्धान्तिक सहमति प्रदान गरिएको प्रवक्ता मन्त्री कार्कीले बताउनुभयो । रासस

प्रकाशित मिति: १३ असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्