तनहुँमा भएको दुर्घटनामा चारको मृत्यु


 


तनहुँ, असार १२

पृथ्वी राजमार्गको मुग्लिन–डुम्रे सडकखण्डमा पर्ने तनहुँको आँवुखैरेनी गाउँपालिका–१ बरादीमा आज बसले कार र मोटरसाइकललाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्वत कुस्माकी तीन वर्षीय ममता लामिछाने, सोही ठाउँका ३५ वर्षीय कमल लामिछाने, आँबुखैरेनी ४ बस्ने नुनबहादुर खवास र सोही ठाउँ बस्ने २६ वर्षीय मोटरसाइकल चालक दिलबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ममता र कमलको गण्डकी अस्पताल, नुनबहादुरको मणिपाल शिक्षण अस्पतालर मगरको मा दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा परी घाइते हुने पाँच जनाको दमौली र पोखराका अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आँवुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग१ख ३०७३ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको वा१७च १८१४ नंको कार र ग५प १९४४ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।

बसले कारलाई ठक्कर दिई साइड लागेपछि फेरि मोटरसाइकललाई ठक्कर दिएको थियो । बस चालक आँवुखैरेनी–२ का सुकबहादुर गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय आँवुखैरेनीका प्रहरी निरीक्षक सन्तोष रोकाले बताउनुभयो । रासस

प्रकाशित मिति: १२ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्