तराईको सम्भावित बाढी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण


 


काठमाडौँ, असार १०

प्रतिनिधिसभाको आजको बैठकको विशेष र शून्य समयमा सांसदहरुले तराईको सम्भावित बाढी नियन्त्रण र उखु किसानलाई उचित मूल्य दिनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।

नेकपाका विरोध खतिवडाले मकवानपुरको मनहरी–४ मा आरक्ष प्रभावित ३०० घरपरिवारलाई बसोबासको प्रबन्ध गर्न सरकारसंग माग गर्नुभयो । नेकपाकै शान्ता चौधरीले दाङ जिल्लामा मानवबस्तीमा रहेका सिमेन्ट उद्योगलाई त्यहाँबाट हटाउन वा बन्द गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपाका श्यामकुमार श्रेष्ठले रामेछापलगायतका जिल्लामा सवारी साधन आवागमनका लागि अलग्गै मापदण्ड बनाइएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका अतहरकमाल मुसलमानले सभामुख र उपसभामुख एकै दलको हुन नहुनेतर्फ सदनको ध्यानाकर्षण गराउनुभयो ।नेकपाका आशाकुमारी विकले बझाङ जिल्लामा भएको चेलीबेटी बेचबिखन, हिंसा र दुव्र्यवहारमाथि कारवाही गर्न माग गर्नुभयो ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने/नगर्नेबारेमा सरकारका मन्त्रीहरुबीच नै मतभेद सार्वजनिक हुनु दुःखद भएको बताउनुभयो ।

सांसदहरु उमाशंकर अरगरिया, सञ्जयकुमार गौतम, घनश्याम खतिवडाले विशेष समयमा भाग लिनुभएको थियो । रासस

प्रकाशित मिति: १० असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्