दुई साताभित्र जनवर्गीय संगठनबीच एकताः नेता नेपाल


 


चितवन, असार १०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनवर्गीय संगठनको एकता दुई साताभित्र हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल, चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई संस्थागत गरेर सञ्चालन गर्न र जनतामाझ जानका लागि पहिलेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अन्तरगतका दुई जनवर्गीय संगठनबीचको एकता आवश्यक रहेको बताउनुभयो ।

जनताको चाहना र कार्यकर्ताको विश्वासका कारण दुई पार्टीबीच एकता भएको भन्दै नेता नेपालले यसले मुलुकलाई समृद्धितर्फ लैजाने बताउनुभयो । जनवर्गीय संगठनलाई चलायमान बनाउन एकता आवश्यक रहेको उहाँको भनाइ थियो । जनताले धेरै ठूलो आशा र भरोसा कम्युनिष्ट एकता र अहिलेको सरकारसँग गरेको भन्दै उहाँले अहिलेको वातावरण विकासका लागि अनुकूुल बनेको बताउनुभयो ।

तीन तहको निर्वाचन सम्पन्न भएसँगै विकासका लागि वातावरण अनुकूल बन्दै गएको उल्लेख गर्दै नेता नेपालले भन्नुभयो, “देशभित्र विकासको लहर ल्याउनुपर्छ भन्ने भावनाले वामपन्थी सरकार अघि बढेको छ ।” सोहीअनुसार उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराइएको नेता नेपालले बताउनुभयो ।

पछिल्लो समय छिमेकीसँगको सम्बन्धमा आएको सुधारले पनि विकासका लागि वातावरण अनुकूल बनेको उहाँले बताउनुभयो । सरकार भारत र चीनसँग सुमधुर सम्बन्ध स्थापित गर्न सफल भएको उहाँको भनाइ थियो । उहाँले प्रधानमन्त्रीको चीन भ्रमण फलदायी भएको पनि बताउनुभयो । रासस

प्रकाशित मिति: १० असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्