दमकको बजेट एक अर्ब २२ करोड


 


दमक, असार ९

झापाको दमक नगरपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६ को लागि एक अर्ब २२ करोड ९६ लाख ८९ हजार १ सय १५ रुपैयाँको बजेट निर्धारण गरेको छ । यो बजेट चालु बर्षको भन्दा ७ करोडले कम्ति हो ।

चालु बर्ष २०७४/७५ का लागि नगरपालिकाको पहिलो नगर सभाले एक अर्ब २९ करोड ४३ लाख २ हजार ४ सय ८७ रुपैयाँको बजेट पारित गरेको थियो । तर, उक्त बजेट ३९ करोडले घाटामा गएपछि नगरपालिकाले आगामी बर्षका लागि चालु बर्षको भन्दा कम्ति बजेट निर्धारण गरेको हो ।

चालु बर्षको बजेटमा केन्द्र सरकारबाट ६९ करोड ३९ लाख र प्रदेश सरकारबाट १४ करोड ५० लाख रुपैयाँ प्राप्त गर्ने अपेक्षा गरिएको थियो । तर, केन्द्र र प्रदेश दुवै सरकारबाट आशातित बजेट नआएपछि नगरपालिकाको बजेट ३९ करोडले घाटामा गएको थियो । चालु बर्षको ३९ करोड घाटा बजेटलाई आगामी बजेटको दायित्व अन्तर्गत राखिएको छ ।

आज बसेको तेस्रो नगर सभामा मेयर रोमनाथ ओलीले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन, बजेट सिलिङ्ग र नगरपालिकाको आन्तरिक आयको प्रक्षेपणका आधारमा आगामी बर्षको लागि बजेट निर्धारण गरेको बताउनुभयो ।

प्रकाशित मिति: ९ असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्