मिक्लाजुङको बजेट ३५ करोड ३१ लाख सार्वजनिक


 


मोरङ, असार ८

 मोरङको मिक्लाजुङ गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।शुक्रबार दोस्रो गाउँ सभामा गाउँपालिका उपाध्यक्ष सरला राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

आर्थिक वर्ष २०७५/०७६ का लागि मिक्लाजुङ गाउँपालिकाको कुल ३५ करोड ३१ लाख २३ हजार चार सय ५० रुपैँयाको बजेट गाउँपालिका उपाध्यक्ष राईले प्रस्तुत गर्नु भएको हो ।

बजेटमा संघीय वित्तीय समानिकरण अनुदान तर्फ १० करोड १७ लाख, शसर्त अनुदानतर्फ १२ करोड ४८ लाख, राजस्व बाँडफाँडतर्फ ६ करोड ९६ लाख २१ हजार प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँड बापत ७० लाख ७२ हजार र सशर्त अनुदान एक करोड साथै आन्तरिक स्रोतबाट ९९ लाख ३० हजार, चार सय ५० र प्राकृतिक स्रोतको उपयोग बापत तीन करोड आम्दानी हुने अपेक्षा गरिएको छ ।

कुल बजेटमा गाउँपालिकाको कार्यालयका लागि १५ करोड ५८ लाख २३ हजार चार सय ५०, वडा समितिको कार्यालयहरुको लागि रु तीन करोड ८० लाख, बिषयगत शाखाहरुको लागि १५ करोड ९३ लाख रकम बिनियोजन गरिएको छ ।

यस वर्षको नीति तथा कार्यक्रमहरुमा गाउँपालिकाले भौतिक पूर्वाधार नीति, वातावरण, खानेपानी तथा सरसफाई, विपद् व्यवस्थापन, विद्युत तथा बैकल्पिक उर्जा, आर्थिक प्रशासन तथा राजस्व परिचालन, शिक्षा, युवा खेलकुद तथा स्वरोजगार, स्वास्थ्य, वन वातावरण तथा जलवायु परिवर्तन, कृषि तथा पशुपंक्षी विकास, भूमि तथा जलस्रोत, सहकारी गरिबी न्यूनीकरण तथा उद्यमशिलता, पर्यटन तथा संस्कृति, सुशासन तथा संस्थागत क्षमता विकास, साझेदार निकायहरुसँग सहकार्य, उद्योग, खानी तथा खनिज र लक्षित समूह विकास लगायतका नीति तथा कार्यक्रमहरु रहेका छन् ।

साथै मिक्लाजुङ गाउँपालिकाले ३ वटा विधेयकहरु समेत सभामा पेश गरेको छ । जसमा सहकारी, आर्थिक र कृषि व्यवसाय प्रवर्धन विधेक प्रस्तुत गरिएको छ । यस्तै गाउँपालिकाको राजपत्र पनि जारी गरिएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रम माथि कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य कुशल लिम्बू तथा मिक्लाजुङका राजनीतिक दलका प्रतिनिधिहरु नेकपाका नरेन्द्रप्रसाद ढुंगेल, काँग्रेसका सेमन्तराज दाहाल, राप्रपाका भूपेन्द्रराज कार्की, संघीय लिम्बुवान रामचन्द्र थापा मगरले धारणा राखेका थिए । कार्यक्रम मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यको सभापतित्वमा भएको थियो ।

प्रकाशित मिति: ८ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्