एकताबद्ध भई सशक्त ढंगले अघि बढ्ने काँग्रेसको संकल्प


 


हेटौँडा, असार ८

नेपाली काँग्रेसका जिल्ला सभापतिको भेलाले विगत निर्वाचनको परिणामबारे गम्भीर हुँदै चुनौतीको सामना गर्न एकताबद्ध भई सशक्त ढंगले अघि बढ्ने संकल्प गरेको छ ।

मकवानपुरको हेटौडामा काँग्रेसका जिल्ला सभापतिहरुको चार दिनसम्म भएको राष्ट्रिय भेलाले आज हेटौँडा घोषणापत्र जारी गर्दै पार्टी विधानसम्बन्धी सुझावलाई ध्यानमा राखी आगामी भदौमा हुने महासमिति बैठकबाट विधान संशोधन एवं परिमार्जन हुने विश्वास व्यक्त गरेको छ ।

पार्टीको केन्द्रीय समिति बैठकले ‘राष्ट्रिय जागरण अभियान’ प्रारम्भ गर्ने निर्णय गरेअनुरुप आवश्यक कार्यक्रम तर्जुमा गरी अविलम्ब राष्ट्रव्यापी रुपमा सञ्चालन गर्न तथा यस वर्षलाई ‘प्रशिक्षण वर्ष’ का रुपमा अघि बढाउन भेलाले अनुरोध गरेको छ ।

जिल्ला सभापतिको समेत प्रतिनिधित्व हुने गरी अविलम्ब विधान मस्यौदा समिति गठन गर्न केन्द्रीय कार्यसमितिलाई भेलाले अनुरोध गरेको घोषणापत्रमा उल्लेख छ । साथै भेलाले महासमितिको बैठकको स्थान र मिति अविलम्ब तोक्न केन्द्रीय कार्यसमितिलाई अनुरोध गरेको छ ।

“प्रत्येक दुई वर्षमा जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आयोजना गर्ने व्यवस्थाका लागि यो भेला अनुरोध गर्दछ । पार्टीभित्र आन्तरिक संवाद घनीभूत गर्दै पारस्परिक एकता, सहअस्तित्व र सहकार्यका साथ पार्टी संरचनाका सबै तहमा विधानसम्मत प्रक्रियालाई अक्षरशः कार्यान्वयन गरी पार्टी संगठनलाई थप क्रियाशील तुल्याउन पार्टी नेतृत्वसमक्ष यो भेला हार्दिक अनुरोध गर्दछ”, घोषणापत्रमा उल्लेख छ ।

प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा ‘सरकारको सर्वसत्तावादी र जनविरोधी प्रवृत्ति’का विरुद्ध कांग्रेसको प्रस्तुति थप प्रभावकारी बनाइने भेलाको निष्कर्ष छ । संविधानसम्मत हुने गरी सबै तहको संरचना निर्माण गर्न आवश्यक कार्यविधि बनाउन केन्द्रीय कार्यसमितिलाई भेलाले अनुरोध गर्नाका साथै अधिवेशन समयमा नभएका भ्रातृ तथा शुभेच्छुक संघसंस्थाको अन्योल हटाई जुझारु र क्रियाशील बनाउन समयमै अधिवेशन गर्न पार्टी केन्द्रीय समितिलाई अनुरोध गरिएको छ । रासस

प्रकाशित मिति: ८ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्