यी हुन् पदमै रहँदा बच्चा जन्माउने दोस्रो महिला प्रधानमन्त्री आर्डेन


 


औक्ल्याण्ड, असार ८

न्युजल्याण्डकी प्रधानमन्त्री जासिन्दा आर्डेनले बिहीबार नवशिशुलाई जन्म दिनुभएको छ । उहाँलाई पुत्रीलाभ भएको छ ।

प्रधानमन्त्री भएकै बेला सन्तान जन्माउनेमा उहाँ विश्वको दोस्रो महिला प्रधानमन्त्री हुनुभएको छ । उहाँको यो पहिलो सन्तान हो । प्रधानमन्त्री आर्डेन अहिले ३७ बर्षकी हुनुहुन्छ भने उहाँका श्रीमान् क्लार्क गायफोर्ड ४० बर्षका हुनुहुन्छ ।

उहाँहरूले जन्माएको बच्चाको तौल ३.३ किलोग्राम रहेको अस्पतालका अधिकारीहरूले जानकारी दिएका छन् । “निश्चय नै बाबुआमा हुदाँ सिर्जना हुने उत्साह हामीले अहिले महसुस गरेका छौं, तर यही बेला हामीप्रति शभेच्छा प्रकट गर्ने हाम्रा आफन्तजन तथा शुभेच्छुकहरुप्रति पनि हामी कृतज्ञ छौ,” आर्डेनले भन्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत् आफ्नो बच्चा स्वस्थ रहेको र राम्रो भइरहेको बताउनुभएको छ । “राम्रो सेवा प्रदान गरेकोमा हामीले औकल्याण्ड सिटी अस्पतालको टोलीलाई विषेश धन्यवाद दिन चहान्छौं,” उहाँले भन्नुभयो ।

आर्डेन र गायफोर्डले आफ्नो बच्चाको लैङ्गिक पहिचान पहिले नै थाहा पाएको भएपनि गोप्य राख्ने निर्णय गर्नु भएको थियो । उहाँ गत अक्टोबरमा प्रधानमन्त्री हुनुभएको थियो भने गर्भवती भएपछि उहाँ पदीय जिम्मेवारीमा निश्क्रिय रहुनुभएको थियो । रासस÷एएफपी

प्रकाशित मिति: ८ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्