प्रहरीद्वारा दुई राउन्ड गोली प्रहार, लुटेरा नाइके ‘खुँडे’ पक्राउ


 


काठमाडौँ, असार ८
प्रहरीले गोली हानेर लुटेरा समूहका नाइके खुँडे भनिने अम्बरबहादुर तामाङलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध शाखाको टोलीले २ राउन्ड गोली चलाएर काठमाडौं मुलपानीबाट बिहीबार राति खुँडेलाई नियन्त्रणमा लिएको जनाएको हो । उनको दायाँ खुट्टामा गोली लागेको छ ।

सिन्धुपाल्चोक बाह्रबिसेका तामाङ हाल काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका थिए। नियन्त्रणमा लिन लाग्दा खुँडेले प्रहरीमाथि नै आक्रमण गर्न खोजेका थिए ।

घटनास्थलबाट १ थान कटुवा पेस्तोल, गोली २ राउन्ड, अमेरिकन डलर १२००, डलर साट्न प्रयोग गर्ने कागजको बिटा ८ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

तामाङ नेतृत्वको समूहले विभिन्न व्यक्तिहरुलाई प्रलोभन र हतियार देखाइ तर्साएर लाखौं लुटेका प्रहरीले जनाएको छ। ती समूहले आफूसँग डलर रहेको र त्यो सटही गरेमा फाइदा हुनेजस्ता बाहाना पारी एकान्तमा बोलाएर सर्वसाधरणलाई हातहतियारसहित धम्क्याएर लुट्ने गरेका थिए।

 

प्रकाशित मिति: ८ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्