प्रदेश सभा सातमा ‘बेहुला र बहुलाहा’को प्रसंग, प्रतिपक्षले दियो संसद रोक्ने चेतावनी


 


काठमाडौं, असार ७
सात नम्बर प्रदेशसभामा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि सामान्य छलफल भइरहेको छ ।

बजेटमाथिको छलफलको दोस्रो दिन विहीबार प्रमुख प्रतिपक्ष दलका तीन जना सांसदले छलफलमा सहभागीता जनाएको छन् । प्रतिपक्षी दहरुले प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाइरहेका छन् ।

छलफलमा भाग लिँदै कांग्रेस सांसद श्यामलाल रानाले प्रदेश सरकारले आएको बजेटले सात नम्बर प्रदेशका सबै ठाउँलाई न्याय गर्न नसकेको बताए । उनले प्रतिपक्षी दलहरुले दिएका कुनै पनि सुझाव नसमेटिएकोमा असन्तुष्टि व्यक्त गरे । उनले ‘बेहुला बनाउछु भन्थी बहुलाहा बनाएर गई’ भन्ने गीतको प्रसंग निकाल्दै आशा गरेअनुसार बजेट आउन नसकेको बताए ।

‘प्रदेश सरकारले पहिले सुझाव माग्नेक्रममा राम्रो बजेट ल्याउँछौ भन्यो’ उनले भने, ‘अहिले आएर आफ्ना र आफूलाई मात्रै फाइदा हुने तरिकाले मात्रै बजेट आएको छ ।’

त्यस्तै, सांसद टेकबहादुर रैकाले सरकारले प्रतिपक्षको दलको सुझावलाई लत्याउँदै जाने हो भने संसद अवरुद्ध गर्ने चेतावनी दिए । उनले आफू र आफ्नो सरकारलाई कसरी फाइदा हुने हो भन्ने विषयलाई मात्र केन्द्रीत गरेर बजेट ल्याइएको आरोप लगाए ।

कांग्रेस संसदीय दलका प्रबक्तासमेत रहेका सांसद डिल्लीराज पन्तले प्रदेश सरकारको एकलौटी पाराले प्रतिपक्षलाई सरकार विरुद्धमा बोल्न बाध्य बनाएको बताए । उनले अहिलेको बजेटले समृद्ध प्रदेश बन्न नसक्ने बताए ।

बजेटमाथिको छलफल जारी छ । सात नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २५ अर्ब बढीको बजेट ल्याएको छ ।

प्रकाशित मिति: ७ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्