धनकुटाको व्यापार सुक्दै गएकामा चिन्ता


 


काठमाडौँ, असार ६

धनकुटाबाट उद्योग व्यवसाय बन्द गरी बसाइँसराइ तीव्र हुँदै गएको भन्दै धनकुटाका बुद्धिजीवीले चिन्ता र चासो व्यक्त गरेका छन् । धनकुटाका बुद्धिजीवी तथा सरोकारवाला निकायका प्रतिनिधिले आज काठमाण्डौँमा आयोजित कार्यक्रममा दिन प्रतिदिन चहलपहल कम हुँदै गएको धनकुटामा पुनः चहलपहल बढाउन आवश्यक कार्य गर्न सुझाव दिनुभयो ।

पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता मनोहरनारायण श्रेष्ठले प्रदेश नं १ को अस्थायी राजधानी धनकुटामा नहँुदा र क्षेत्रीय कार्यालय स्थानान्तरण हुँदा धनकुटा बजारको व्यापार व्यवसायमा मन्दी आएको बताउनुभयो ।

धनकुटा काँग्रेसका सचिव विजय सन्तोषी राईले धनकुटाका दर्जनाँै पसल बन्द भएको र विराटनगर, धरान र इटहरीलगायत तराईका बजारमा धनकुटाबाट बसाइँसराइ हुन थालेकाले यसलाई रोक्न धनकुटावासी र सरकारले तत्काल विशेष पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रध्यापक रेवतीप्रसाद दाहाल, गोपालप्रसाद अधिकारी, ओम श्रेष्ठ, टंक दवाडीलगायतले राणा शासनदेखि हालसम्म गौंडाका रुपमा रहेको धनकुटालाई प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने माग गर्नुभयो ।

केन्द्रीय र प्रदेश सरकारले धनकुटालाई जीवन्त राख्न तत्काल ठोस कार्यक्रम ल्याउनु पर्नेमा जोड दिँदै उहाँहरुले धनकुटाबासीले पनि निजी क्षेत्रबाट विभिन्न योजना सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

प्रदेशको अस्थायी राजधानी धनकुटामा नराख्ने निर्णय भएयता धनकुटा बजारमा अहिलेसम्म २१ वटा विभिन्न किसिमका पसल र सात साना उद्योग बन्द भएको र एक हजारभन्दा बढी मानिस बसाइँसराई गरी अन्यत्र गएको कार्यक्रममा जानकारी दिइएको थियो । रासस

प्रकाशित मिति: ६ असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्