राष्ट्रियसभाका सदस्यको कार्यकाल आज चयन हुँदै


 


काठमाडौं, असार ४

राष्ट्रियसभाका सदस्यले आज आफ्नो कार्यकाल कति वर्ष रहने भन्ने यकिन स्वयंले गर्ने भएका छन् । नेपालको संविधानको धारा ८६ अनुसार सो सभाका ५९ सदस्यले गोलाविधिद्वारा आफ्नो कार्यावधि दुई, चार र छमध्ये कति वर्ष हुने भन्ने टुङ्गो आज पहिलो पटक लगाउने छन् । अर्थमन्त्री डा युवराज खतिवडा र गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभाको सदस्य छन् ।

निर्वाचनको अङ्गकै रुपमा गोलाविधिद्वारा समयावधि निर्धारण कार्यक्रमलाई लिइन्छ । यसका लागि संघीय संसद् सचिवालयले महासचिवको संयोजकत्वमा आन्तरिक समिति र कार्यविधिसमेत बनाएको छ । आज बिहान ११ः३० बजेदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा गोलाविधिद्वारा समय निर्धारण हुनेछ । संविधान अनुसार पाँच समूहमा राष्ट्रियसभाका सदस्य विभाजन गरिनेछ ।

पहिलो समूहमा सातै प्रदेशका तीन /तीन गरी गरी २१ महिला सदस्यले गोलाप्रथा कार्यक्रममा भाग लिई समय निर्धारण गर्नेछन् । यसपछि सातै प्रदेशका एक /एक गरी सात दलित सदस्य, सात अपाङ्गता भएका वा अल्पसंख्यक समूहका सदस्यले गोलाप्रथामा भाग लिने कार्यक्रम तय गरिएको छ ।

यसपछि अन्य समूहमा सातै प्रदेशका तीन–तीन गरी कूल २१ र राष्ट्रपतिद्वारा मनोनीत तीन सदस्यले गोला छनोट गरी आफ्नो भाग्य आफैं निर्धारण गर्नेछन् । गोलाप्रथामा सचिवालयले वर्णानुक्रमानुसार भाग लिने व्यवस्था मिलाएको छ । गोलाप्रथा विधिद्वारा राष्ट्रियसभाका ५९ सदस्यमध्ये २० जनाको छ वर्ष, २० जनाको चार वर्ष र १९ जनाको पदावधि दुई वर्ष हुनेछ ।

प्रकाशित मिति: ४ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्