चीन भ्रमणबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिँदै
काठमाडौँ, असार ४
आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का दुबै सदनलाई आज जानकारी दिनुहुने भएको छ । संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीले आसन्न चीन भ्रमणबारे बक्तव्यका लागि समय माग्नुभएको छ । प्रधानमन्त्रीले दुबै सदनमा छुट्टाछुट्टै जानकारी दिनुहुनेछ ।
राष्ट्रको प्रतिनिधित्व गरेर विदेशमा औपचारिक भ्रमण वा कार्यक्रममा जाँदा सदनलाई जानकारी दिने प्रचलन अनुसार प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो । संसद् अधिवेशन चलिरहेको अवस्थामा सरकारको सदनप्रतिको जवाफदेहीताका लागि भ्रमणबारे प्रधानमन्त्री वा मन्त्रीले जानकारी दिने प्रचलन छ । संघीय संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले प्रधानमन्त्रीले बक्तव्य दिने समय तय भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले प्रतिनिधिसभाको अपराह्न ४ बजेको बैठकलाई सम्बोधन गर्ने जानकारी उहाँले दिनुभयो । यस्तै, राष्ट्रियसभामा भने दिउँसो २ बजे नै सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको कार्यसूचीबारे औपचारिक रुपमा परराष्ट्र मन्त्रालयले जानकारी गराएको छैन । प्रधानमन्त्रीले सदनबाटै औपचारिक रुपमा कार्यसूची सार्वजनिक गर्ने जनाइएको छ ।
प्रकाशित मिति: ४ असार २०७५, सोमबार