प्रधानमन्त्रीको चीन भ्रमण : आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास


 


काठमाडौँ, असार ३

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले दुई देशको पारस्परिक सम्बन्ध थप प्रगाढ बनाउँदै देशको आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास लिइएको छ ।

चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी मंगलबार हुन लागेको प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा पर्यटन एवं आर्थिक क्षेत्रमा विविध विषयमा समझदारी हुनेछ ।

प्रधानमन्त्रीको उपस्थितिमा आज भ्रमण टोलीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन भ्रमणलाई उपलब्धिमूलक र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हिमालयन वारपार रेल्वेसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ, यो सबैभन्दा महत्वपूर्ण पहल हो, जसले पारस्परिक सहयोगका क्षेत्रमा नयाँ युगको शुरुआत गर्नेछ ।

भ्रमणको तयारीबारे जानकारी दिँदै उहाँले देश राजनीतिक स्थायित्वमा गएको र अबको यात्रा आर्थिक विषयमा केन्द्रीत भएकाले प्रधानमन्त्रीको भ्रमणलाई पनि सोहीअनुरुप तयार गरिएको बताउनुभयो ।

प्रधानमन्त्रीको यसपटकको भ्रमणले दुई देशबीचका परम्परागत सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, “प्रधानमन्त्री ओलीको अघिल्लो पटकको भ्रमणमा भएका सम्झौतालाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अगाडि बढाउनुभएको र ती सम्झौता कार्यान्वयनमा लैजाने विषयमा विचार विमर्श हुनेछ ।”

उहाँले भ्रमणका अवसरमा कोशी आर्थिक करिडोर, गण्डकी आर्थिक करिडोर र कर्णाली आर्थिक करिडोरका सम्बन्धमा भएका घोषणालाई सम्झौतामा रुपान्तरण गरिने जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: ३ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्