राससमा अब पठनीय समाचारः अध्यक्ष अधिकारी


 


काठमाडौँ, असार ३

राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त कार्यकारी अध्यक्ष हरिहर अधिकारी (श्यामल)ले आज पदबहाली गर्दै राससको समाचारलाई गुणस्तरीय, आधिकारिक र पठनीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

रासस केन्द्रीय कार्यालयमा स्वागतपछि आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले विश्वसनीय, आधिकारिक र पठनीय समाचार समिति बनाउन आफ्नो अनुभव र क्षमताको प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

अध्यक्ष अधिकारीले भन्नुभयो, “रासस मुलुकको इज्जेत हो, यसलाई देशको प्रतिष्ठित संस्थाका रुपमा विकास गर्दै गुणस्तरीय समाचार उत्पादनको केन्द्र बनाउनुपर्छ, सुन्दर रासस निर्माणमा मेरो भूमिका हुनेछ, तपाईंहरुको साथ चाहिन्छ ।”

अध्यक्ष अधिकारीले ‘अल्छी पत्रकारिता’ क्षम्य नहुने उल्लेख गर्र्दै राससलाई नयाँ उचाइमा पुर्याउन आवश्यकताको पहिचान गरी यसलाई अन्तर्राष्ट्रियस्तरको समाचार समितिको सिकाइका आधारमा अगाडि बढाउन लागिपर्ने बताउनुभयो । आफू परिणामुखी र गुणस्तरीय काममा विश्वास गर्ने बताउँदै उहाँले भन्नुभयो, “लोकतन्त्रमा तपाईंहरुको अस्था जहाँ पनि हुन सक्छ तर गुणस्तरीय र परिणाममुखी काममा सम्झौता हुँदैन, राससलाई थप जीवन्त बनाउन मेरो पहल हुनेछ ।”

सो अवसरमा महाप्रबन्धक ओपेन्द्र शर्माले राससलाई आत्मनिर्भर र २१औँ शताब्दी अनुकूलको समाचार समिति बनाउन आफूहरुले काम गर्ने त्यसमा नवनियुक्त अध्यक्ष अधिकारीले पनि योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । पदबहालीका क्रममा राससका नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपाली, सञ्चालक समितिका सदस्य एकराज पाठक र डिल्ली भट्टराई, प्रधानसम्पादक राजु शाक्य, प्रशासन प्रमुख सोमनाथ लामिछाने, प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेतलगायतले सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

दैलेखको गन्मगाउँ, पगनाथमा विसं २०१६ पुस ३० गते पिता उदयराम र माता कलावतीका कोखबाट जन्मनुभएका अधिकारीलाई गत जेठ ३१ गते मन्त्रिपरिषद्को बैठकले राससका लागि कार्यकारी अध्यक्षका रुपमा चार वर्षका लागि नियुक्त गरेको थियो । नवनियुक्त अध्यक्ष अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा र साहित्यमा स्नातकोत्तर गर्नुभएको छ भने पत्रकारिता र साहित्यमा विशेष दख्खल राख्नुहुन्छ । रासस

प्रकाशित मिति: ३ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्