स्वतन्त्र परराष्ट्र नीतिअनुसार छिमेकीसँग सहकार्य : नेता रावल


 


काठमाडौँ, असार ३

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीमबहादुर रावलले स्वतन्त्र परराष्ट्र नीतिअनुसार नै छिमेकी मुलुकसँग सहकार्य गर्दै जाने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रका आधारमा छिमेकी मुलुकसँगको सम्बन्धलाई प्रगाढ बनाई नेपालको हितका पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।

पूर्वगृहमन्त्री रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पारवाहन, प्रसारण लाइन र जलविद्युत् क्षेत्रमा महत्वपूर्ण सहमति हुने जानकारी गराउनुभयो । “नेपालले यसअघि भारतबाट मात्र पारवाहन सुविधा लिएको थियो”–उहाँले भन्नुभयो, “अब प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय कानूनअनुसार नै चीनसँग पनि पारवाहनको सहमति गरेर आउनुहुन्छ ।” प्रधानमन्त्री ओलीले भारतसँग गर्नु भएको सहमति कार्यान्वयनको चरणमा रहेको पनि उहाँको भनाइ थियो ।

उहाँले बजेट मुलुकलाई समृद्ध पार्ने खालको आएको भन्दै बजेट कार्यान्वयनसँगै सरकार सफल हुने बताउनुभयो । उहाँले पार्टीको अन्तरिम विधान र नियमावली कार्यान्वयनको चरणमा रहेको बताउँदै अब प्रदेश, जिल्ला र भातृसंगठनमा संख्यात्मक कुरा मिलाउन बाँकी रहेको बताउनुभयो ।

नेपाली काँग्रेसका नेता दीपक खड्काले नेपालले भारत र चीन दुवै मित्रराष्ट्रसँग एकै खालको सम्बन्ध कायम राख्नुपर्ने बताउनुभयो । उहाँले दुवै देशसँग नेपालले समान दृष्टिकोण, समान सम्बन्ध कायम गर्दै दुवै सम्बन्धबाट फाइदा लिन सक्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: ३ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्