अरुण तेस्रोको सुरुङमा पुरिएर बेपत्ता चार जनाको ३८ घण्टापछि सकुशल उद्दार


 


संखुवासभा, असार ३
संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएर बेपत्ता भएका भनिएका चार जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ ।

सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै बिहारका ४५ वर्षीय नन्क किशोरलाई सकुशल उद्दार गरिएको छ ।

शुक्रबार करिब ९ बजेबाट सुरुङमा फसेका उनीहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उनीहरुलाई उद्दार गरेको हो । उनीहरुको उद्दारपछि प्रारम्भिक स्वास्थ्य परीक्षण थालिएको छ ।

सुरुङमा फसेकाहरुलाई खोज्ने क्रममा आइतबार बिहान उद्दार टोलीले ठूलो ढुंगामा प्वाल पारेपछि उनीहरु फेला परेका थिए ।

प्वालबाट उज्यालो छिरेपछि उनीहरुको आवाज सुनिएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए । उनकाअनुसार डोरीको प्रयोग गरेर उनीहरुलाई उद्दार गरिएको हो ।

प्रकाशित मिति: ३ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्