उर्लाबारीको ओजन पानी उद्योगमा सिलबन्दी


 


मोरङ असार १

क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगर मोरङले मोरङको उर्लाबारी – ६ स्थित आर.के. इण्डष्ट्रिज प्रालीले उत्पादन गर्दै आएको ओजन पानी उद्योगमा आज दिउँसो सिलबन्दी गरेको छ ।

सो पानी उद्योग मापदण्ड बिपरित सञ्चालन भईरहेको पाईएपछि सिलबन्दी गरिएको कार्यालयका खाद्य निरीक्षक प्रेम अर्यालले जानकारी दिनुभयो । क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय मोरङसहित जिल्ला प्रशासन कार्यालय मोरङ र पानी व्यवसायी संघ मोरङको टोलीले पानी उद्योगको अनुगमन गर्ने क्रममा मापदण्ड बिपरित भेटिएपछि उद्योगमा सिलबन्दी गरिएको हो ।

ओजन पानी उद्योगले न्युनतम मापदण्ड समेत पुरा नगरी पानी उत्पादन गर्दै आएको भेटिएपछि सिलबन्दी गर्नुपरेको खाद्य निरीक्षक अर्यालले बताउनुभयो । ओजन पानीमा लेदो भेटिएपछि दुई दिन अघि स्थानीय एक उपभोक्ताले इलाका प्रहरी कार्यालय उर्लाबारीमा लिखित उजुरी दिएका थिए ।

सो उजुरीलाई जिल्ला प्रशासन कार्यालयले क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालयलाई अनुसन्धान गर्ने जिम्मा दिएको थियो । पटक – पटक अनुगमन गर्ने क्रममा पनि ओजन पानी उद्योगले समान्य मापदण्ड पनि पुरा नगरेकाले उद्योगमा सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय, मोरङका नायव सुब्बा केदार घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति: १ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्