ओलीलार्इ लक्षित बम निष्क्रिय पारियो


 


दमक, ३१ जेठ
झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले आज बिहान सुरक्षितरुपमा बम निष्क्रिय बनाएको हो । दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा नगर प्रमुख ओली बस्दै आउनुभएको छ ।

नगर प्रमुख ओलीका अनुसार बुधबार बेलुका कार्यालयबाट फर्कने क्रममा नगरपालिकाको स्कारपियो गाडीको छतमा कार्टुनजस्तो चिजमा शंकास्पद वस्तु फेला परेको थियो । उहाँले सो शंकास्पद वस्तु गाडीमा देखेपछि प्रहरीमा खबर गर्नुभएको थियो ।

फेला परेको बमलाई ओली निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीले बेलुका ८ बजेतिर सुरक्षित स्थानमा लगेका थिए । त्यसलाई आज बम डिस्पोजल टोली झिकाएर निष्क्रिय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

यसअघि पनि ओली निवासमा बम विष्फोट भएको थियो । त्यस्तै, करीब एक महिना अघिमात्र दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा समेत विष्फोटन गराइएको थियो । ती सबै बम विष्फोटनका घटनामा संलग्नताको भने पहिचान हुन सकेको छैन । रासस

प्रकाशित मिति: ३१ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्