अरुण जलविद्युत आयोजना लक्षित सकेट बम प्रहार


 


संखुवासभा,जेठ ३०

संखुवासभाको खाँदबारी–९ तुम्लिङटारमा अवस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयलाई लक्षित गरी सकेट बम प्रहार भएको छ । गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको हो ।

कार्यालयभन्दा टाढै बनमाराको झाडीमा बिस्फोट भएकाले कुनै क्षति भएको छैन । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भन्नुभयो, ‘अरुण तेस्रोको हेडक्वाटरभन्दा माथितिर एउटा बाटो छ । बाटोभन्दा उत्तरतिर करिब पाँच–सात बिघा खाली जग्गा छ । त्यसको उत्तर–पश्चिम कुनामा मकैबारीबाट बनमाराको झाडीमा सकेट बम फालेको पाइएको छ । कुनै पनि क्षति भएको छैन ।’ प्रजिअ अधिकारीले बम फ्याँक्ने समूहको खोजी जारी रहेको जानकारी दिनुभयो ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणको पूर्वसन्ध्यामा गत वैशाख १६ गते कम्पाउन्ड वालमै बम प्रहार भएको थियो । नेपाल भ्रमणमा आएको बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले काठमाडौंबाटै अरुण तेस्रोको शिलान्यास गर्नुभएको थियो । अरुण तेस्रो जलविद्युत आयोजना ९ सय मेगावाट क्षमताको हो ।

प्रकाशित मिति: ३० जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्