सरकारको समृद्धिको नारा गफ मात्रै : सभापति देउवा


 


काठमाडौँ, जेठ २९

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अघि सारेको समृद्धिको नारा गफ मात्रै भएको टिप्पणी गर्नुभएको छ । नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले जनताका दैनिक उपभोग्य वस्तुमा महंगी बढाएर समृद्धि नआउने बताउनुभयो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सरकारले देखाएको व्यवहारले सरकार राष्ट्रवादी नभएको आरोप लगाउँदै सभापति देउवाले प्रश्न गर्नुभयो, “पहिले अरुण तेस्रो जलविद्युत परियोजना हुन नदिने अहिले त्यही परियोजना भारतलाई बोलाएर उद्घाटन गर्न लगाउने, यो कस्तो राष्ट्रवाद हो ?”

पार्टीभित्रको विवादका सम्बन्धमा उहाँले आफूलाई गाली गरेर पार्टी बलियो नहुने भन्दै मुलुकमा देखिएको चुनौतीको सामना गर्न एकढिक्का भएर काँग्रेसलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पार्टी विधान वा सहमति अनुसार चल्नुपर्ने बताउँदै सभापति देउवाले भन्नुभयो, “आफूलाई आवश्यक परे सहमतिअनुसार भन्ने आवश्यक नभए विधानअनुसार चल्नुपर्छ भन्नु हुँदैन ।”

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसकै पहलमा नेपाल ट्रेड युनियन काँग्रेसका धेरै माग संविधानमा लिपिबद्ध भएको बताउँदै सबैको सहभागिता हुने गरी राष्ट्रिय श्रम आयोग गठन हुनुपर्ने माग गर्नुभयो ।

सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाका सम्बन्धमा सरकारमा सहभागी दलहरुले गरेको व्यख्याको विरोध गर्दै वरिष्ठ नेता पौडेलले त्यस विरुद्ध काँग्रेसले सशक्त प्रतिवाद गर्ने उदघोष गर्नुभयो । रासस

प्रकाशित मिति: २९ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्