जनताप्रतिको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री


 


काठमाडौँ, जेठ २८

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण इमानका साथ जनताप्रतिको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कथा नेपालले तयार गर्ने ‘हेलो प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रमको लोगो सार्वजनिक गर्ने कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनताप्रतिको जिम्मेवारी पूरा गर्न यो सरकार प्रतिबद्ध छ ।”

आफ्ना भनाइ ढुक्कसँग राख्न जनतालाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनताको कुनै पनि प्रश्न निरुत्तरित हुँदैन, समय सन्दर्भअनुसार हरेक प्रश्नको हल हुन्छ ।”

आफूले यथार्थमा आधारित रचनात्मक आलोचना होस् भन्ने आफ्नो चाहना रहेको भन्दै उहाँले कानूनअनुसार जनताको सेवा गरेर कर्तव्य पूरा गर्ने बताउनुभयो ।

सामाजिक न्यायमा आधारित सुदृढ राष्ट्रिय एकतामा मुलुकलाई अगाडि बढाउने बताउँदै प्रधानमन्त्री ओलीले विकासको बाटोमा सही नीति र कार्यक्रमका साथ सरकार अगाडि बढेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “सुशासनको बाटोबाट समृद्ध नेपाल र सुखी नेपालीको बाटोमा जाँदैछौँ ।” प्रधानमन्त्री ओलीले कूल गार्हस्थ उत्पादनले मात्र सरकारले अगाडि बढाएको अभियान पूरा नहुने भन्दै त्यसका लागि जनताको जीवनस्तर माथि उठ्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “हुनेहरुको खोसेर बाँड्ने भनेको होइन, नहुनेहरुलाई हुने बनाउने सरकारको अभियान हो ।” उहाँले लोकतन्त्र सभ्य, सु–संस्कृत, आत्मअनुशासित र मर्यादित हुनुपर्नेमा जोड दिनुभयो ।

जनतालाई सकारात्मक अधिकारको प्रत्याभूत गराउने सरकारको लक्ष्य भएको बताउँदै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले स्वार्थमा भन्दा पनि सामाजिक जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । रासस

प्रकाशित मिति: २८ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्