प्रदेश १ मा पाँच लाख विदेशी पर्यटक भित्राउने : मुख्यमन्त्री राई


 


विराटनगर,  जेठ २८

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्राइने बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित वायु सेवा कम्पनीहरुको सेवा प्रवाह एवं विमानस्थलका लागि भावी योजना विषयक अन्तक्र्रिया कार्यकममा उहाँले प्रदेशमा रहेका धार्मिकस्थल र हिमाली क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरी छिमेकी राष्ट्रका पर्यटकलाई आकर्षित गर्ने बताउनुभयो ।

मुख्यमन्त्री राईले विराटनगर विमानस्थललाई प्रादेशिकरुपमा विस्तार गरी छिमेकी देशमा हवाई उडान गरी छिमेकी देशका पर्यटकलाई यहाँ ल्याउने लक्ष्यका साथ सरकारले कार्य गरिरहेको उल्लेख गर्नुभयो । उहाँले प्रदेश मन्त्रिपरिषद् बैठकबाट विराटनगर विमानस्थलको रनवे तीन हजार मिटर पुर्याउने निर्णय गर्ने जानकारी दिँदै आगामी छ महिनाभित्र विमानस्थलको विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण र अन्य समस्या समाधान गर्ने बताउनुभयो ।

अन्तक्र्रिया कार्यक्रममा यस क्षेत्रमा सञ्चालित विभिन्न वायुसेवा कम्पनीको सहभागिता रहेको थियो । कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतको उपस्थिति रहेको थियो । रासस

प्रकाशित मिति: २८ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्