भुँडी बन्यो बाधक, यी सुविधाबाट बञ्चित हुँदैछन् भुँडे सैनिक


 


काठमाडौं, जेठ २८
नेपाली सेनामा कार्यरत भुँडी भएका सैनिक अधिकारीहरू विभिन्न सुविधाबाट बञ्चित हुने भएका छन् । अब बढुवा रोकिन्छ अनि शान्ति मिसनबाट पनि नाम हटाइन्छ।

मोटोपना र दुब्लोपना अत्याधिक भएमा त्यस्ता सैनिक अधिकारीहरूको बढुवा रोकिने मात्रै होइन, शान्ति सेनालगायत स्वदेश तथा विदेशमा हुने तालिमबाट समेत उनीहरू वञ्चित हुने छन्। अन्नपूर्णमा खबर छ ।

सैनिक मुख्यालयले आफ्ना सैनिकहरूको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै ल्याएको स्वास्थ्य वर्गीकरणसम्बन्धी कार्यविधिमा तोकिएको मापदण्डविपरीत तौल भएमा त्यस्ता सैनिक अधिकारीहरूको बढुवा नहुने र शान्ति सेनामा जानबाट समेत वञ्चित हुने उल्लेख छ।

कार्यविधिले आफ्नो स्वास्थ्यमा ख्याल नराख्ने, जथाभावी खाने, आवश्यक व्यायाम नगर्ने सैनिक अधिकारीहरूलाई नियमन गर्ने छ। केही उच्च सैनिक अधिकारीहरू कार्याविधि कार्यान्वयनमा आएपछि तौल घटाउन क्लब नै जान थालेका छन्।

बढुवालगायत शान्ति सेनाबाट समेत वञ्चित हुने भएपछि शारीरिक रूपले मोटोपन भएका, पुटुस्स भुँडी लागेका र धेरै दुब्लोपना भएका सैनिक अधिकारीहरू अहिले नियमित व्यायाम गर्न थालेको सैनिक स्रोतले बताएको छ।

प्रकाशित मिति: २८ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्