चैते धान बिक्री नहुँदा किसान मारमा


 


झापा, जेठ २७

चैते धान बिक्री नहुँदा झापास्थित धान सुपर जोन क्षेत्रका किसान मर्कामा पारेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपर जोन सञ्चालनमा आएपछि झापामा यस बर्ष चैते धानको उत्पादनमा वृद्धि भएको छ ।

उत्पादन वृद्धि भएपनि त्यसले मूल्य र बजार नपाउँदा किसान भने मारमा परेका हुन् । विगतमा सामान्य रुपमा गरिने चैते धानको खेती यो बर्ष अभियानका रुपमा सुपर जोन क्षेत्रको साढे ७ सय बिघा क्षेत्रफलमा रोपिएको थियो ।

सुपर जोन सञ्चालक समिति अध्यक्ष नवराज भट्टाईका अनुसार यो बर्ष प्रतिबिघा सयदेखि एक सय २० मनसम्म धान फलेको छ । अघिल्लो बर्ष बढीमा प्रतिबिघा ८० मनसम्म मात्र धान फलेको थियो । सुपरजोन क्षेत्रमा मात्रै यो बर्ष करीब ८० हजार मन चैते धान उत्पादन भएको छ ।

किसानले बीउ–बिजनमा सहुलियत, सिँचाइको व्यवस्था, प्राविधिक र मेसिनरी सहयोग पाएपछि चैते धानको उत्पादन बढेको अध्यक्ष भट्टाईले बताउनु भयो । जेठ दोस्रो हप्तासम्म प्रतिमन ८ सय २० रुपैयाँमा धान विक्री गरेका किसानले दुई हप्तापछि अहिले प्रतिमन ७ सय रुपैयाँमा समेत विक्री नभएको किसान कन्हैयालाल गणेशले बताउनु भयो ।

धानको मूल्य लगातार घटिरहेको अवस्थामा स्थानीय व्यापारीले धान खरिद गर्न नमान्दा किसान थप मारमा परेका छन् । उनीहरु चाडै विक्री नहुँदा धान बिग्रीने डरले चिन्तित बनेका हुन् । स्थानीय धान व्यापारी बीरसिंह माझीले मिलले धान खरिद गर्न नमानेकाले आफूले किसानसंग धान खरिद गर्न नसकेको बताउनु भयो । उहाले आसपासमा ठूलो मिल नहुँदा यो समस्या बेहोर्नु परेको समेत बताउनु भयो ।

प्रकाशित मिति: २७ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्