कांग्रेसका पूर्वसांसदसहित २० अन्तरघातीलाई कारबाही गर्न सिफारिस (नामावलीसहित)


 


धनगढी, जेठ २७
नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा अन्तरघात गर्नेलाई कडा कारबाही गर्ने उद्घोष गरेको भोलिपल्टै कांग्रेस कैलालीले पूर्वसांसदसहित २० जना नेता तथा कार्यकर्तालाई कारबाहीका लागि सिफारिस गरेको छ ।

कांग्रेसले यसअघि प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका क्रममा आधिकारिक उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको आरोप लगाउदै पूर्वसांसद पुस्करनाथ ओझासहित जिल्लाका विभिन्न निर्वाचन क्षेत्रबाट २० जनाको नाम कारबाहीका लागि सिफारिस गरेको हो ।

नेपाली काँग्रेसको निर्वाचन परिचालन मूल समितिका स्थानीय तहका वडामा रहेका विभिन्न वडा संयोजकहरुले निवर्तमान सांसद ओझासहित जिल्ला पार्टी सचिव पूर्ण कुँवर, महासमिति सदस्य आनन्दराज जोशी, महाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरी, जिल्ला सदस्य लक्ष्मी देवकोटा, क्षेत्रीय उपसभापति कुम्भराज गिरी, नेविसंघका सहमहामन्त्री प्रेम जोशी, वडा नम्बर ७ का सभापति देवबहादुर सेठी, वडा नम्बर १९ का वडा सचिव गंगादत्त ओझा, वडा नम्बर १ का सदस्य सुभाष चन्दको नाम कारबाहीका लागि सिफारिस गरिएको कांग्रेस कैलालीले जनाएको छ ।

यस्तै, वडा नम्बर १८ का क्षेत्रीय प्रतिनिधि फूलनारायण भुषाल, वडा नम्बर १३ का अध्यक्ष खडक ओझा, सोही वडाका क्षेत्रीय प्रतिनिधि भोजराज भट्ट, क्रियाशिल सदस्य विनायक पनेरु, लोकराज अवस्थी, वडा नम्बर १२ का क्रियाशिल सदस्य चन्द्रदेव जोशी, शिक्षक संघ जिल्ला कार्यसमिति सदस्य लक्ष्मी ओझा, पूर्व क्षेत्रीय सचिव खेम भट्ट र वडा नम्बर १४ का क्रियाशिल सदस्य भूमिनन्द ओझाको नाम कारबाहीका लागि सिफारिस गरिएको कांग्रेस कैलालीले जनाएको छ ।

शुक्रबार धनगढीमा आयोजित पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कारबाही गर्ने उद्घाेष गरेका थिए ।

सिफारिस नामावलीः

प्रकाशित मिति: २७ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्