विराटनगर आएर प्रधानमन्त्रीले ओलीले गरे यस्तो आग्रह


 


विराटनगर, जेठ २६

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा पूरा हुने गरेर काम गर्न प्रदेश सांसदहरूलाई आग्रह गर्नुभएको छ । ठूलो परिवर्तनपछि अत्यन्तै महत्वपूर्ण अवस्थामा अहिलेका जनप्रतिनिधिहरूको भूमिका सिर्जना भएकोले सोहीबमोजिम काम गर्न उहाँले आग्रह गर्नुभयो ।

विराटनगरस्थित प्रदेश एकको संसद बैठकलाई आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनपक्षीय प्रणाली बनाएर काम गर्न पनि आग्रह गर्नुभयो । ‘पहिलोको जस्तो अनुपयुक्त प्रणाली होइन, जनपक्षीय प्रणाली बनाएर काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो । उहाँले प्रदेश एकको प्राकृतिक अवस्था असाधारण भएकोले आफ्नो प्रदेशको सम्पत्तिको उचित प्रयोग गरेर देखाउन पनि आग्रह गर्नुभयो ।

‘सगरमाथासहितका हिमालहरूको प्रदेश हो यो,’ उहाँले भन्नुभयो, ‘यो प्रदेशमा भएका सम्पत्तिहरूको प्रयोग प्रदेशको विकास र उत्थानका लागि गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले भ्रष्टाचारका विषयमा शून्य सहनशीलता अपनाउन पनि आग्रह गर्नुभएको छ । उहाँले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि नछोड्ने कुरा प्रदेश १ मा आएर पनि दोर्होयउनुभयो ।

यसअघि बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई धनीहरुको देशको रुपमा बदल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल अहिलेसम्म गरिब बस्नेहरुको देशका रुपमा चिनिएको भन्दै अब धनी जनता बस्ने देशको रुपमा विकसित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्र निर्माणको महान् अभियान लिएर सरकार अघि बढेको भन्दै केही वर्षभित्र बजेट पुगेन भन्ने गुनासो नै आउन नदिने बताउनुभयो । अहिलेको सरकार कुराको प्रतिस्पर्धामा नभई कामको प्रतिस्पर्धामा अघि बढ्ने उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट पनि फरक ढंगको भएको बताउनुभयो ।

यसअघिका सरकारले राजनीतिलाई केन्द्रमा राखेर बजेट ल्याउने गरेको भए पनि अब दीर्घकालीन सोचका साथ बजेट आएको उहाँको भनाइ थियो । अर्काे एक प्रसंगमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार प्रतिपक्षीलाई पेलेर नभई समेटेर अघि बढ्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो । उहाँले दुई तिहाईको सरकार भए पनि देशलाई सर्वसहमतिका आधारमा अघि बढाउने जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: २६ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्